कांग्रेस महाधिवेशन कार्यतालिका संशोधन : बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते 

कांग्रेस महाधिवेशन कार्यतालिका संशोधन : बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते 

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ।

प्रदेश र केन्द्रीय अधिवेशनको पूर्व निर्धारित तालिका यथावत् राखेर कार्यतालिका संशोधन भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसले डडेलधुराका दुई वटा वडा बाहेक शुक्रबारसम्म ५७ जिल्लामा वडा अधिवेशन सकिएको जनाएको छ। डडेलधुराका दुई वटा वडामा पनि भोलि शनिबार अधिवेशन हुने समितिका संयोजक महादेव यादवले जानकारी दिए। 

बाँकी २० जिल्लाको अधिवेशन असोज ५ गते हुने उनले बताए। भोलिसम्म क्रियाशील सदस्यको नामावली समितिमा आउने जानकारी आएको भन्दै उनले असोज ५ गते बाँकी २० वटै जिल्लामा एकै दिन वडा अधिवेशन हुने जानकारी दिए। 

यस्तै भदौ २३ गते गर्ने भनिएको सबै जिल्लाको पालिका अधिवेशन असोज ९ गते हुने भएको छ। प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १२ गते गर्ने गरी कार्यतालिका संशोधन भएको यादवले बताए। 

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १८ गते हुने उनले बताए।

कार्तिक १० देखि मङ्सिर ९ गतेदेखि १३ गतेसम्म कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका यथावत् रहेको जनाएको छ। 

भदौ २५, २०७८ शुक्रबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।