एमाले सांसदको खुल्लमखुल्ला चुनौती : सभामुखलाई माइकले हान्ने हो, टाउको फुटाउने हो
एमाले समानुपातिक सांसद रेखा कुमारीले त गृहमन्त्री बालकृष्ण खाँणको टेबलमा रहेको माइक थुतेर रोष्टमतिर हान्ने प्रयास गरेकी थिइन्। तर उनले भ्याइनन्। संसद् बैठक सकिएपछि बाहिर निस्किएकी उनलाई सञ्चारकर्मीले घेरा हालेर सवाल जवाफ गरेका थिए। जहाँ उनले हाँकाहाँकी भनिन्' सभामुखलाई हान्ने हो, टाउको फुटाउने हो।'
सभामुखले गैर संवैधानिक काम गरेर संसद्को मर्यादा नराखेको आरोप लगाउँदै उनले हान्ने योजना अनुसारै गृहमन्त्रीको माइक तानेको स्वीकार गरिन्।
'हान्ने योजनामै माइक तानेको हो। सभामुखलाई हान्थ्यौ, अर्थमन्त्रीलाई हान्थ्यौ' उनले भनिन्।
प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा संसद् चलाएर बजेट अध्यादेश पास गरेकोमा उनी निकै रिसाएकी थिइन्। उनले सञ्चारकर्मीलाई प्रश्न गरिन्' एउटा प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा सदन चल्न सक्छ?'
उनले माधव नेपालसहितका सांसदलाई कारबाही गर्न एमालेले लेखेको पत्र कार्यान्वयन नगरेकोमा समेत सभामुखको आलोचना गरिन्।
भदौ २५, २०७८ शुक्रबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।