वाइसीएलले भन्यो, एमसीसीका बुँदा नसच्याई पारित गर्नु हुँदैन
प्रथम पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा वाइसीएलले एमसीसी लगायतका कुनै पनि सहयोग अनुदानहरू देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न नसकिने जनाएको हो।
नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरू नसच्चाई पारित नगर्न पनि वाइसीएलले सरकारलाई भनेको छ।
बैठकले भारतसँगका सम्पूर्ण सीमा विवाद तुरुन्त समाधान गर्न सरकारसँग माग गरेको वाइसीएलका संयोजक सुमन देवकोटाले बताए। उनले बन्द रहेका राष्ट्रिय उद्योग तथा प्रतिष्ठानहरू तुरुन्त सञ्चालन गरी युवा रोजगार सिर्जना गर्न पनि सरकारसँग माग गरेको बताए।
त्यस्तै सम्पूर्ण उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले जानकारी दिए।
त्यस्तै सङ्गठनले कोभिड महामारीकाबीच सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न ढिलाइ नगर्न पनि भनेको छ।
जनयुद्ध, जनआन्दोलन तथा विभिन्न राजनैतिक आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारलाई राज्यद्वारा दिइने सेवा सुविधा सहज रूपमा प्रदान गर्न वाइसीएलको माग छ।
भदौ २५, २०७८ शुक्रबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।