दुवै सदनको बैठकमा एमालेको नाराबाजी
काठमाडौँ : नेकपा एमालेका सांसदहरूले नाराबाजी गर्दै प्रतिनिधि सभाको राष्ट्रिय सभाको आजको बैठकमा पनि अवरोधको प्रयास गरेका छन्।
एमालेले कारबाही गरी पद मुक्त गरेका सांसदलाई सूचना नदिएर सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध बनाएको हो। एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीले पदमुक्त गरे पनि सभामुखले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै सभामुखसँग आक्रोशित एमालेले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध गरेको हो। यसअघि बुधवारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए।
उक्त मुद्दा अदालतमा विचाराधीन रहेको र सभामुखले एमाले सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेको भन्दै बैठक सञ्चालन गर्न सहयोगका लागि आग्रह गरेका थिए। एमालेका सांसदले पक्षपातपूर्ण व्यवहार बन्द गर, निर्दलीय व्यवस्था चाहिँदैन लगायतको नारा लगाएका छन्। बुधवारको बैठकमा अवरोधकैबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेस गरिएको थियो। आजको बैठकमा पनि आर्थिक लगायतका अध्यादेश टेबुल गर्ने कार्यसूची छ।
त्यसै गरी राष्ट्रिय सभा बैठकमा पनि एमाले सांसदको नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन्। बैठकमा एमाले सांसद देवेन्द्र दाहालले आफ्नो भनाई राखेपछि एमाले सांसदले नाराबाजी सुरु गरेका थिए।
भदौ २५, २०७८ शुक्रबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।