एमसीसी उपाध्यक्ष सुमार र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट वार्ता

एमसीसी उपाध्यक्ष सुमार र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट वार्ता

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन्।

 नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारसँग शुक्रवार बिहान आफ्नै निवास खुमलटारमा भएको भेटमा सकेसम्म राष्ट्रिय सहमति र त्यति नभए पनि सत्ता गठबन्धनका दलहरूबीचको साझा सहमतिपछि मात्रै एमसीसी पास गर्नुपर्ने बताएका हुन्।

प्रचण्ड निवासमा भएको भेटमा एमसिसीबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।   

माओवादी केन्द्रभित्र एक पक्ष  एमसिसी पास गर्नै हुन्न भन्ने अडानमा छन् भने अर्को पक्ष संशोधन गरेर पास गर्न सकिने धारणा राख्छन्। एमसीसी मुख्यालयले संशोधन गर्न नसकिने जानकारी गराइसकेको छ। सत्ता गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गर्नुपर्ने अडानमा छन्। 

यसअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्।

सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ। सुमार टोली एमसिसी सम्झौताको कार्यान्वयनको अवस्था बुझ्न नेपाल आएको हो।

भदौ २५, २०७८ शुक्रबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।