सत्ता गठबन्धनका नेताहरूको बैठकमा प्रधानमन्त्रीले मागे मन्त्री बन्नेको नाम
काठमाडौँ : सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी दलहरुसँग मन्त्री बन्नेहरूको नामावली माग गरेका छन्।
शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रीपरिषद् विस्तार गर्नका लागि सरकारमा सहभागी दलसँग मन्त्रीको सूची माग गरेका हुन्। नेताहरूले चाँडै मन्त्री परिषद् विस्तार गर्नुपर्ने बताएपछि प्रधानमन्त्री देउवाले मन्त्री बन्नेको सूची उपलब्ध गराउन आग्रह गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।
बैठकमा मन्त्रीपरिषद् विस्तार, अध्यादेशहरू संसद्मा टेबुल गर्ने र गठबन्धनलाई बलियो बनाएर लैजानेबारे छलफल भएको सचिवालयले जनाएको छ। बैठकमा सहभागी एक नेताका अनुसार माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसँगको भेटबारे पनि जानकारी गराएका थिए।
भदौ २५, २०७८ शुक्रबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।