विवाद र बहिस्कारबीच डडेलधुरामा कांग्रेस वडा अधिवेशन सुरु
डडेलधुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पार्टी जिल्ला सभापति लगायतको टोलीले बहिस्कार गरे पनि निर्वाचन अधिकृतले वडा अधिवेशन सुरु गरेका छन्।
जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले क्रियाशील सदस्यता विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने माग राखे पनि निर्वाचन समितिले कडा सुरक्षाका साथ आज बिहानबाट वडा अधिवेशन सुरु गरेको हो।
पार्टी जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ वडामा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जनाएको छ। बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेको निर्वाचन समितिले जानकारी दियो।
कांग्रेस डडेलधुराका सभापति मल्लले सदस्यता विवाद नै नटुङ्ग्याई गरिएको अधिवेशनमा आफूहरूको सहभागिता नहुने बताए। सभापति देउवा पक्षधरले एकलौटी रूपमा क्रियाशील सदस्यता वितरण गरेको मल्ल समूहले आरोप लगाएका छन्।
कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले चारै तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको र लिस्टमा सिफारिस नभएका तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि दुई समूहबिच विवाद सुरु भएको थियो।
भदौ २५, २०७८ शुक्रबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।