पशुपतिनाथको मन्दिर सर्वसाधारणको लागि आजबाट खुल्यो

पशुपतिनाथको मन्दिर सर्वसाधारणको लागि आजबाट खुल्यो

काठमाडौं : कोरोना सङ्क्रमण बढेपछि साँढे ४ महिना सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको  मूल मन्दिर आजबाट खुला गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा  क्षमा पूजा गरेपछि शुक्रवार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरेको हो।  कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रवारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। 

कोरोना जोखिम कम भए पनि पूर्ण रूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्म मात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। एक पटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।   

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ।    विसं २०७६ चैत महिनामा नेपालमा पहिलो पटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। 

भदौ २५, २०७८ शुक्रबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।