सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं : एमसीसी अनुमोदन र मन्त्रीपरिषद् विस्तार सम्बन्धी छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषद्को पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दियो।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो। सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराए पनि दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।
सम्झौता कार्यान्वयनको अवस्था बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आएपछि प्रधानमन्त्री देउवा यसलाई अनुमोदन गराउन लबिङ गर्न थालेका छन्। सत्ता गठबन्धनकै दलहरूबिच एमसीसीको विषयमा समान धारणा बन्न सकेको छैन।
भदौ २५, २०७८ शुक्रबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।