सत्ता गठबन्धन बैठकमा उपेन्द्र गएनन्, माधव अन्त जानु छ भन्दै निस्किए 

सत्ता गठबन्धन बैठकमा उपेन्द्र गएनन्, माधव अन्त जानु छ भन्दै निस्किए 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे २ बजे बोलाइएको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नगएपछि एजेन्डामै प्रवेश नगरी सकिएको हो। 

बैठकमा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिले पुगेका थिए। त्यसपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पुगिन। ढिलो गरी पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्त काम छ भन्दै निस्किए।

‘यादवले उपस्थित हुन नसक्ने जानकारी गराउनु भयो,’बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले उकेरासँग भनिन्,‘भोलि बिहान ९ बजे बस्ने गरी एजेन्डामा प्रवेश नै नगरी हामी उठेर हिँड्यौ।’

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबन्डा समेत टुङ्गो लगाउन सकेका छैनन्। ‘आज कुनै विषयमा कुराकानी नै भएन,’पौडेलले भनिन्,‘भोलिको बैठकमा एजेन्डामा छलफल हुन्छ होला।’

उनले छलफलको एजेन्डाबारे जानकारी पनि नगराइएको बताइन। 

भदौ २४, २०७८ बिहीबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।