एमालेले चित्तबुझ्दो जवाफ नआए संसद् बैठक चल्न नदिने  

एमालेले चित्तबुझ्दो जवाफ नआए संसद् बैठक चल्न नदिने  

सभामुखको भूमिका, निर्वाचन आयोगको नयाँ दल दर्ता गर्ने निर्णयविरुद्ध अधिवेशन आव्हान भएको पत्र वाचन लगत्तै प्रश्न उठाउने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

‘हामी सरकारले अध्यादेश टेबुल गर्नु अगाडि नै संसदमा जवाफ माग्छौ,’भट्टराईले उकेरासँग भने,‘चित्तबुझ्दो जवाफ नआए बैठक चल्न दिँदैनौ।’ 

एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद् बैठक चल्न नदिने बताएका थिए। एमालेले कारबाही गरेका १४ जना सांसद नै नरहेको तर्क गरेका ओलीले उनीहरू उपस्थित भए बैठक चल्न नदिने बताएका हुन्। 

१४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटा एमालेविरुद्धको मतियारको रूपमा रहेको आरोप ओलीले लगाए।  

उनले सत्ता गठबन्धन लोकतन्त्र मास्न लागेको आरोप पनि लगाए। ओलीले रातारात छापामार शैलीमा संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै लोकतन्त्रको उपहास भएको उल्लेख गरे। 

ओलीले एमसीसी अहिले छलफलका रूपमा आएको र संसदमा आएपछि धारणा बनाउने बताए। एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनको भनाई छ। 

बैठकले नेकपा एमालेले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। सभामुखले माओवादी कार्यकर्ताको भूमिका खेलेको एमालेले आरोप समेत लगाएको छ। 

भदौ २३, २०७८ बुधबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।