मन्त्रीपरिषद् विस्तार गर्दै बागमती प्रदेश सरकार
नेकपा एकीकृत समाजवादी पार्टीमा १३ सांसदले सनाखत गरेसँगै अल्पमतमा परेकी शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको २१ दिनपछि मन्त्री परिषद् बिस्तार गर्न लागेकी हुन्।
यसअघि शाक्यले आफूसँगै नियुक्त गरेकी सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा (एस) रोज्दै पदबाट राजीनामा दिएपछि अहिले मन्त्री परिषद् २ सदस्यीय मात्रै छ। सरकारमा अहिले केशवराज पाण्डे आन्तरिक मामिला, कानुन र भौतिक पूर्वाधार मन्त्री छन्। बाँकी मन्त्रालय शाक्य आफैले सम्हाल्दै आएकी छिन्।
सरकारले पाँच मन्त्री र चार राज्यमन्त्री विस्तार गर्न लागेको एमाले मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
मन्त्री को को बनाउने भन्ने विषयमा सहमति जुटाउन बाँकी रहेको एमाले स्रोतले जनाएको छ। सबै आकांक्षीलाई भाग पुर्याउन नसक्दा संसदीय दलको बैठकपछि मात्र नाम सार्वजनिक गरिने एक सांसदले बताए। ती सांसदका अनुसार आजै संसदीय दलको बैठक बसेर मन्त्रीको नाम अनुमोदन भएपछि मन्त्रीपरिषद् बिस्तार हुनेछ।
भदौ २३, २०७८ बुधबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।