सङ्घीय संसद् बैठक : प्रतिनिधिसभामा एकै दिन १५ अध्यादेश टेबुल हुने

सङ्घीय संसद् बैठक : प्रतिनिधिसभामा एकै दिन १५ अध्यादेश टेबुल हुने
फाइल फोटो

सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचना अनुसार संसद्को पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी ऐन संशोधनसहित विभिन्न १५ अध्यादेश टेबुल गर्न लागिएको हो। सरकारले संसद् अधिवेशन नचलेका बेला अत्यावश्यक कानुन बनाउन अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधान छ। उक्त अध्यादेश जारी भएको मितिले ६० दिन भित्र संसदबाट अनुमोदन नभएमा स्वतः निष्क्रिय हुन्छ।

आजको कार्यसूचीमा अधिकांश अध्यादेशमा नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना दिनेछन् भने सम्बन्धित मन्त्रीले अध्यादेश स्वीकृतिका लागि टेबुल गर्नेछन्। नागरिकता ऐन संशोधन अध्यादेशमा सुवालसँगै जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि अस्वीकार गरियोस् भन्ने सूचना जारी गर्नेछन्।

संसद् सचिवालयका अनुसार बुधवार  रेल्वे अध्यादेश, औषधी (तेस्रो संशोधन), कोभिड १९ सङ्कट व्यवस्थापन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी र शपथ अध्यादेश भौतिक योजना तथा स्वास्थ्य मन्त्रीको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गर्नेछन्। 

राजनीतिक दल सम्बन्धी अध्यादेश, नागरिकता ऐन (पहिलो संशोधन), तेजाब तथा अन्य घातक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन, सामाजिक सुरक्षा अध्यादेश स्वीकृत गरियोस् भनि गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव गर्ने कार्यसूची छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृतका लागि टेबुल गर्नेछन्।

त्यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जनार्दन शर्माले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको छ।

बैठकको सुरुवातमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएपछि प्रारम्भ हुने बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ (१०) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरू चयन गर्नेछन्। १५ वटा अध्यादेश पेस भएपछि स्वर्गीय जेबी टुहुरिएको शोक प्रस्ताव पारित गर्ने संसद्को कार्यसूची छ।

भदौ २३, २०७८ बुधबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।