प्रधानमन्त्री देउवाले भने, एमसीसीका बारेमा भ्रम सिर्जना गर्न खोजियो

प्रधानमन्त्री देउवाले भने, एमसीसीका बारेमा भ्रम सिर्जना गर्न खोजियो

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन्। 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको र कानुनी प्रक्रिया पुरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएका कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन। 

देउवाले अघिल्ला सरकारहरूले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएका छन्। एसीसीका बारेमा अन्य दलसँग पनि  छलफल र संवाद गरिने भुसालले जानकारी दिइन। 

बैठकमा देउवाले संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका भुसालले बताइन। 

त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद् बैठकमा अध्यादेश पेस गर्ने जानकारी दिए। राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेस गर्ने र अन्य अध्यादेशलाई पनि क्रमशः पेस गर्ने कांग्रेस सचेतक भुसालले बताइन।

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा बुधबारको संसद् बैठकमा छानबिन समितिको प्रतिवेदन पेस गर्ने जानकारी गराएका छन्।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न चार बजे बोलाइएको छ।  

भदौ २२, २०७८ मंगलबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।