सङ्खुवासभा घटनाको अनुसन्धान सुरु : चिनजान र नजिकको ब्यक्तिको संलग्नताको शंका

सङ्खुवासभा घटनाको अनुसन्धान सुरु : चिनजान र नजिकको ब्यक्तिको संलग्नताको शंका

काठमाडौं : रातभर मौसमले साथ नदिएपछि सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले बिहानदेखि अनुसन्धान सुरु गरेको छ। 

मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको स्थानमा  सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो। हिजो साँझ मात्रै घटनास्थल पुगेको र वर्षाका कारण काम सुरु गर्न नसकेकाले आज बिहानैबाट घटना प्रकृति मुचुल्का उठाउने काम सुरु गरेको एसपी दाहालले बताए।

प्रत्येक शवको सूक्ष्म अनुसन्धान गर्न थालिएको उनले जानकारी दिए। ‘हामी प्रत्येक शवको इन डिटेल अवलोकन गर्न थालेका छौँ’, दाहालले उकेरासँग भने, ‘घटनास्थल मुचुल्का उठाउने र स्थानीयसँग भेरिफिकेशन गर्ने काम सँगसँगै सुरु गरेका छौँ।’

टोलीमा अनुसन्धान तालिम प्राप्त कुकुर  घटनास्थलमा लगिएको छ। रातभर पानी परेका कारण मङ्गलवार बिहान मात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले जानकारी दिए। पानीले शवको शरीर पखालेका कारण कुकुरले गर्ने अनुसन्धानमा समस्या आउँछ की भन्ने दाहालको आशङ्का छ। प्रहरीले अनुसन्धान टोली नपुगेसम्म घटनास्थल शील गरेको थियो।

शील गरिएको स्थानमा सोमबार बिहान मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटना प्रकृति हेर्दा चिने जानेको र नजिककोबाट भएको जस्तो देखिएको भए पनि विस्तृत अनुसन्धान नगरी यसै भन्न नसकिने एसपी दाहाल बताउँछन्। ‘जुन प्रकृतिको घटना छ, त्यसलाई हेर्दा परिवारको विषयमा सबै जानकारी भएको मान्छेले गरेको अनुमान गर्न सकिन्छ’, एसपी दाहाल भन्छन्, ‘तर, त्यसमा मात्र केन्द्रित हुँदा घटनाले अर्को मोड लिन पनि सक्छ, त्यसैले हामी अनुसन्धानका सबै पाटालाई एक साथ अघि बढाउँछौँ।’

उनी घटनाको गहिराइमा पुग्न सकिनेमा आशावादी छन्। ‘केही जटिल भए पनि हामी घटनाको अनुसन्धान सफलता साथ गर्न सक्छौँ भन्नेमा म आशावादी छु’, दाहालले भने, ‘अहिले अनुसन्धानको प्रारम्भिक चरणमा भएकाले यो भन्दा बढी भन्न सकिने अवस्था छैन।’

सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो। आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन्। उनी  घरमा रहेका सबैको हत्या भएको थियो।

घटनामा उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर , बुहारी ५२ वर्षीया कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना , पनाति ११ वर्षीय दिपेन  र पनातिनी ७ वर्षीया गोमाको हत्या भएको हो। उनका २ नाति विदेशमा छन्।

प्रहरीका अनुसार पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा छ। तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । 

रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा छ। दिपेन र गोमाको शव घरदेखि माथि पटी खर बारीमा छ । घोप्टो अवस्थामा रहेका उनीहरूको शव करिब पाँच मिटरको दूरीमा छ।

पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

भदौ २२, २०७८ मंगलबार १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।