स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त नगरे डा. केसी अनसन बस्ने

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त नगरे डा. केसी अनसन बस्ने

काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका सरकारसँग भएका समझदारी कार्यान्वयन नभए कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन्। उनले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै अनसन बस्ने चेतावनी दिएका हुन्। 

‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरू तत्काल कार्यान्वयन गर्न माग गर्छौ ,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘यी मागहरू पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउन चाहन्छौँ।’

पछिल्लो समय धरानस्थित बिपी प्रतिष्ठानमा चलेको आन्दोलनपछि आन्दोलनकारीहरूसँग भएको सम्झौता कार्यान्वयन नगरेका कारण अस्पतालको सेवा नै अवरुद्ध हुने गम्भीर अवस्था सिर्जना भएको केसीको भनाई छ।

बिपी प्रतिष्ठानका हकमा सम्झौता कार्यान्वयन लगायतका विषयमा आफूसँगको भेटमा प्रधानमन्त्रीले समझदारी गरेको तीन साता बितिसक्दा पनि कुनै काम नभएको केसीले बताएका छन्। ‘उल्टै माफियाहरूको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई दबाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको छ।’ विज्ञप्तिमा लेखिएको छ। 

स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका स्वास्थ्य राज्यमन्त्रीलाई अहिलेसम्म पदबाट नहटाइएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसबाट सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि झनै बल्झाउने दिशामा गएको देखिएको डा. केसीले उल्लेख गरेका छन्। 

अहिलेको सत्तामा रहेका पार्टी, नेता तथा नेताका परिवारका सदस्यहरूसँग साँठगाँठ रहेका र आपराधिक पृष्ठभूमिका माफियाहरूले देशभरका निजी मेडिकल कलेजहरू किनिरहेको केसीको आरोप छ।

केसीले जारी गरेको विज्ञप्तिमा त्यस्तो किनबेचले राजनीतिकर्मीहरुले  भ्रष्टाचार गरेर थुपारेको कालो धन माफियाहरूमार्फत मेडिकल कलेजमा लगानी भइरहेको भन्ने आशङ्कालाई गम्भीर बल पुर्याएको लेखिएको छ।

नागरिकले लाखको कारोबार गर्दा स्रोत खोज्ने राज्य र बैङ्किङ प्रणाली अर्बौ रुपैयाँको यस्तो शङ्कास्पद किनबेच भइरहँदा मौन बस्नुले थप शङ्का जन्माएको केसीको उल्लेख गरेका छन्। 

अनैतिक र अवैध काम तत्काल रोकेर सम्पत्ति शुद्धीकरण विभागले आम्दानीको स्रोतविना शङ्कास्पद रूपमा अर्बौमा मेडिकल कलेज किन्नेहरूको सम्पत्तिमाथि तत्काल छानबिन गर्नुपर्ने केसीको माग छ।

‘यदि त्यसो नगर्ने हो भने भ्रष्ट, अपराधी र माफियाहरूको अहिलेको सरकारसितको साँठगाँठ पुष्टि हुनेछ,’केसीले विज्ञप्तिमा लेखेका छन्,‘त्यो अवस्थामा माफियाहरूमार्फत कालो धन मेडिकल कलेजमा लगानी गर्ने नेताहरूको नामै तोकेर आन्दोलनमा उत्रिन हामी बाध्य हुनेछौँ।’

भदौ २१, २०७८ सोमबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।