रोकिएको जनगणनाको काम भदौ ३० गतेदेखि नै सुरु हुने
काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्ने भएको छ।
सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेसँगै राष्ट्रिय जनगणना कार्तिक २५ देखि ९ गतेसम्म गर्ने तथ्याङ्क विभागले जनाएको छ।
राष्ट्रिय जनगणनाका लागि भदौ ३० गतेदेखि नै घरपरिवार सूचीकरण गर्ने काम सुरु हुने तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए।
राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा भदौ ३० गतेदेखि घरपरिवार सूचीकरणका लागि सुपरिवेक्षक खटिने लामिछानेले बताए। ‘घरपरिवार सूचीकरणका लागि खटिने सुपरिवेक्षकको नियुक्ति भदौ २५ गतेभित्र हुनेछ,’लामिछानेले उकेरासँग भने,‘२७ र २८ गते उनीहरूको तालिम हुनेछ।’
उनले मूल गणनाका लागि खटिने गणकका लागि असोज अन्तिमसम्म भर्ना प्रक्रिया सुरु गर्ने तयारी भएको जानकारी दिए। गणनाका लागि जिल्ला जिल्लामा सामग्री पुर्याइएको उनले बताए।
केन्द्रबाट तालिम र अनुगमनका लागि ६० देखि ७० जना कर्मचारी खटिने उनले जानकारी दिए।
भदौ २१, २०७८ सोमबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।