नियम निलम्बन गरेर बजेट पास गर्न ओलीले मानेनन् : सरकार 

नियम निलम्बन गरेर बजेट पास गर्न ओलीले मानेनन् : सरकार 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेट संशोधन गर्न प्रतिपक्षी दल नेकपा एमालेको सहयोग मागेको छ।

सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अध्यादेश बजेट संशोधनका विषयमा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको बताए। 

मन्त्रीपरिषद् बैठकपछि प्रवक्ता कार्कीले संशोधनका विषयमा कुरा भए पनि ओलीसँग सहमति नभएको बताए। ‘भदौ २३ गतेदेखि संसद्को अधिवेशन सुरु हुँदैछ,’उनले भने,‘बैठकमा अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयकको तयारी भएको छ।’

नेपालको संविधानमा संसद् नभएको बेला सरकारले जारी गरेका अध्यादेश सङ्घीय संसद्को पहिलो बैठकमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यो व्यवस्था अनुसार सरकारले साउन ३ गते बसेको संसद्को पहिलो बैठकमा पूर्ववर्ती सरकारले जारी गरेको बजेट अध्यादेश पेस गरेको छ।

सरकारले जारी गरेका अध्यादेश निष्क्रिय या खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुने संविधानको धारा ११४ मा व्यवस्था छ। 

संवैधानिक व्यवस्था अनुसार सरकारले असोज ३ गतेभित्र नयाँ बजेट ल्याइसक्नु पर्छ। बजेट नल्याए पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश बजेटलाई स्वीकार गर्नु पर्ने हुन्छ। 

सर्वोच्च अदालतको आदेशपछि गठन भएको वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने बताए पनि प्रतिपक्षी एमालेसँग सहमति नभएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए। 

नियम निलम्बन गरेर सरकारले ल्याएको संशोधन बजेट पारित गर्ने विषयमा एमाले अध्यक्ष ओलीसँग भेटेरै छलफल गरे पनि ओली सहमत नभएका कार्कीले बताए। ‘नियम निलम्बन गर्ने विषयमा ओली सहमत हुनु भएन,’उनले भने,‘सहमतिको प्रयास भइरहेको छ।’

भदौ २१, २०७८ सोमबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।