बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय 

बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय 

काठमाडौं : सरकारले नेपाल र भारतको सीमा क्षेत्र छाङरुङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चौकीहरूको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरू उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय विकास सहायता मार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए। त्यस्तै बैठकले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको उनले बताए।

बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। त्यस्तै निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

भदौ २१, २०७८ सोमबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।