सरकारका गलत निर्णयको गगन थापाले गरे आलोचना
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारका गलत निर्णयको आलोचना गरेका छन्।
काठमाडौँमा सोमबार भएको कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले जयसिंह धामी बेपत्ता घटनादेखि काठमाडौँका सडकमा बोल्न नपाउनेसम्म सरकारले गलत निर्णय गरेको बताएका हुन्।
‘जयसिंह धामीको दार्चुलाको घटनामा होला वा काठमाडौँको सडकमा बोल्न नपाउने कुराहरूमा होला, एकपछि अर्को गलत निर्णय भएका छन्,’थापाले भने,‘यी निर्णयहरू गलत हुन्, यस्तो गलत निर्णय गर्ने काम नेपाली कांग्रेस नेतृत्वको सरकारले गर्नुहुँदैन।’
थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताए।
उनले बाँकी अवधि सही ढङ्गले सरकार चलाउन चुनावमा विजय प्राप्त गर्नुपर्ने कांग्रेसको अहिलेको मुद्दा भएको बताए। प्रदेश र आम चुनावमा कसैलाई पनि कांग्रेसको बुई चढ्न नदिने थापाको भनाई छ। ‘कांग्रेस पनि कसैको आड लाग्दैन,’थापाले भने,‘प्रदेश र केन्द्रमा एकल सरकार बनाउँछु भन्ने आत्मविश्वास राख्नुपर्छ।’
थापाले आगामी चुनावमा कसैको काँधमा नचढी बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए।
भदौ २१, २०७८ सोमबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।