लोभी पापीहरूले एमाले छाडे, अब कहिल्यै फुट्‍दैन  : केपी ओली

लोभी पापीहरूले एमाले छाडे, अब कहिल्यै फुट्‍दैन  : केपी ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनको पाहुना मात्र भएको दाबी गरे। उनले वर्तमान सरकार जवर्जस्ती थोपरिएको पाहुना भएको दाबी गरे।

युवा सङ्घको कार्यक्रममा बोल्नेक्रममा उनले आफ्नै दाबीको खण्डन गर्दै गए।

' यो सरकार छिट्टै बिदा गर्न नसके पनि हतार छैन। १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन। तर तपाइहरू सुत्नुभयो भने यस्ता सरकार आइरहन्छन्। उठ्नुभयो भने देशभक्त सरकार बन्छ।'

उनले ३ सय ९६ अस्पताल एकै दिन शिलान्यास गर्ने सरकार नेकपा एमालेको मात्र बन्न सक्ने दाबी गर्दै ठुला सडक र पुल आफैले उद्घाटन गरेको र ३१ वटा पुल पनि आफैले उद्घाटन गरेको बताए।

त्यसको ठेक्का लागिसकेको र कसैले निर्माण रोक्न नसक्ने दाबी गर्दै भने' काँग्रेसको भागमा ठेक्का पर्यो भने बन्दैन।'

एमाले एक्लै छ हामी पाँच जना छौँ  भनेर दाबी गरिरहेको भन्दै सत्तामा रहेका दललाई लक्षित गर्दै भने' एक-एक फुट जोडे पाँच फुट हुन्छ। एकै जना ६ फुट भए को अग्लो ?'

उनले लोभी पापीहरूले एमाले छाडेको भन्दै अब एमाले कहिल्यै नफुट्ने गरी बलियो बनाउने दाबी समेत गरे। उनले सरकारले जालझेल गरेर अध्यादेश ल्याएको समेत दाबी गरे। सभामुख र निर्वाचन आयोगसम्ममा सेटिङ गरेको उनले दाबी गरे।

उनले भने 'सेटिङ-सेटिङ भन्थे, के रहेछ यो सेटिङ भनेको यस्तो पो रहेछ।'

सरकारले संसद् आव्हान गरेको र संसद्मा एमालेले सभामुख कुनै पार्टीको कार्यकर्ता हो कि के हो भनेर सोध्नुपर्ने बताए। उनले सभामुख प्रमुख प्रतिपक्षी दल फुटाउने षड्यन्त्रको मतियार बनेको आरोप लगाए।

उनले भने 'अग्नि प्रसाद सापकोटा सभामुख हो कि षड्यन्त्रको प्यादा हो ?'

भदौ २१, २०७८ सोमबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।