एमसिसीको विपक्षमा दिन दिनै विरोध : साना दल सडकमा, ठूला दल मौन

एमसिसीको विपक्षमा दिन दिनै विरोध : साना दल सडकमा, ठूला दल मौन

काठमाडौँ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न सरकारले गृहकार्य अगाडि बढाएसँगै साना कम्युनिस्ट दलले दैनिक रूपमा विरोध प्रदर्शन गरिरहेका छन्। सरकार बाहिर रहेका ठुला दल भने मौन छन्।

सरकार परिवर्तनसँगै एमसिसीको पक्षमा जनमत बनाउन एमसिसी नेपालले मिडिया क्याम्पेनिङलाई तीव्र बनाएपछि विरोध सुरु भएको थियो। एमसिसीबारे छलफल गर्न उपाध्यक्ष फतिमा सुमार सेप्टेम्बर ९ मा नेपाल आउने निश्चित भएपछि साना कम्युनिस्ट पार्टीहरूले दैनिक विरोध प्रदर्शन गरिरहेका छन्।

५० करोड अमेरिकी डलरको सो परियोजना नेपालमा कार्यान्वयन गर्न नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि विवादका कारण परियोजना अगाडि बढ्न सकेको छैन। उपाध्यक्ष नेपाल आउने मिति तय भएसँगै सरकारले एमसिसीबारे प्रस्ट्याउन केही प्रश्न सोधेको थियो।

यी सबै गतिविधिलाई एमसिसी पारित गर्ने तयारीको रूपमा विश्लेषण गर्दै यसको विपक्षमा रहेकाहरू दिनकै आन्दोलनमा उत्रिरहेका छन्।

आइतबार वैज्ञानिक समाजवादी पार्टी, नेपालले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो। सोमबार मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) मा आबद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्ता नेपालमा रहेको अमेरिकी दूतावास अगाडि गएर विरोध प्रदर्शन गरे।

उनीहरूले एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै खारेजीको माग गरेका थिए। विरोध प्रदर्शन सहभागीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसिसी सुटुक्क पारित गर्ने तयारी गरेको आरोप लगाउँदै त्यस्तो नगर्न चेतावनी दिएका थिए। उनको नेतृत्वमा सरकार हुँदा उनले एमसिसीलाई अगाडि बढाउने प्रयास गरेका थिए। तर पार्टीभित्र विवाद भएपछि संशोधन गरेर मात्र पारित गराउने सहमति भएको थियो।

सरकारमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा रहे पनि खुलेर समर्थन गर्न सकेका छैनन्। सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस पहिल्यैदेखि एमसिसीको पक्षमा थियो।  

जनता समाजवादी पार्टीका नेताहरूले सामाजिक सञ्जालमा व्यक्तिगत मत राखे पनि एमसिसीबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन। विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू पनि यसबारे मौन नै छन्।

भदौ २१, २०७८ सोमबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।