काठमाडौ उपत्यका जलमग्न : नदी किनारका बस्ती डुबानमा

काठमाडौ उपत्यका जलमग्न : नदी किनारका बस्ती डुबानमा

काठमाडौं : काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गए रातीदेखि को अविरल वर्षाले उपत्यकाको खोला नदी आसपासको क्षेत्र जलमग्न भएको छ। 

लगातारको वर्षाले उपत्यकाका सबै नदीहरूमा पानीको सतह उच्च भएर नदी किनारका बस्तीमा पानी पसेकाले उपत्यकाका विभिन्न स्थान जलमग्न भएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा राती ३ बजेदेखि बिहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको छ। यति छोटो समयमा यति धेरै वर्षा विरलै हुने गरेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बाग्मती, विष्णुमती, इच्छुमती, धोबी खोला, बल्खु खोला, मनोहरा खोला, सामाखुशी खोला लगायतका नदीहरूमा आएको बाढीले नदी आसपासका क्षेत्रहरू डुबाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीका कारण करिब ४ सय घर डुबानमा परेको र डेढ सय मानिसलाई उद्धार गरिएको  छ। विशेष गरी खोला किनारका सुकुम्वासी बस्तीहरू जोखिममा परेका छन्।

बल्खुको तरकारी बजार, टेकु, कालीमाटी क्षेत्र  डुबानमा परेको छ। त्यसै गरी गोङ्गबु, मैतीदेवी र रातो पुल क्षेत्रमा पनि सडकमा पानी जमेको छ। कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरे फाँट क्षेत्र, तल्लो नेपाल टार, शंखमुल क्षेत्र पनि डुबानमा परेको छ।

काठमाडौ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौका विभिन्न ठाउँमा गरी झन्डै ४ सय घर डुबानमा परेका छन्।

 

भदौ २१, २०७८ सोमबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।