नेपाली कांग्रेस : क्रियाशील सदस्यता विवादले अन्योलमा २१ जिल्लाको वडा अधिवेशन

नेपाली कांग्रेस :  क्रियाशील सदस्यता विवादले अन्योलमा २१ जिल्लाको वडा अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा क्रियाशील सदस्यताको समस्या समाधान नहुँदा २१ जिल्लाको वडा अधिवेशन अन्योलमा परेको छ।

सदस्यता विवाद समाधान भएका मध्ये हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ। सदस्यता सूची सार्वजनिक भएका बाँकी १३ जिल्लामा वडा अधिवेशनको मिति तय भइसकेको छ।

प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन। प्रदेश २ का  ८ वटै जिल्लाको विवाद सदस्यता छानबिन समितिले टुङ्ग्याउन सकेको छैन। समायोजन विवादले प्रदेश २ को सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची आउन बाँकी छ।

बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं र रसुवाको पनि सूची सार्वजनिक भएको छैन।, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन।

सदस्यता सार्वजनिक भएका ठाउँमा अधिवेशन गर्ने क्रममा आफूहरू लागि रहे पनि २१ जिल्लाको हकमा केही बताउन नसक्ने कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले बताए। ‘पार्टीले सदस्यता सूची उपलब्ध गराएपछि हामी अधिवेशनको मिति तोक्छौँ’, यादवले भने, ‘सदस्यताको टुङ्गो लगाउने काम केन्द्रीय समितिको हो।’

शीर्ष नेतृत्व तहबाटै २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले नामावली पाएको छैन। कांग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो।

अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् ।

भदौ २१, २०७८ सोमबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।