डिभी परेपछि नक्कली सर्टिफिकेट बुझाउने ६ जना पक्राउ
काठमाडौँ : अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जना नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा पक्राउ परेका छन्। सन् २०२० को डिभी परेर भिसा प्रक्रियाका लागि बुझाएको शैक्षिक प्रमाण पत्र नक्कली भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, नवलपरासीका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दीप विष्ट र काठमाडौँ टेकुका २३ वर्षीय सोहिली शाही पक्राउ परेका हुन्।
सन् २०२० मा ईडीभीमा यी सबैको नाम निस्किएको थियो। डिभी परे पनि भिसाका लागि योग्य हुन प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने नियम छ। यी ६ जनाले प्लस टु उत्तीर्ण गरेका थिएनन्। डिभी परेपछि भिसा प्रक्रियामा उनीहरूले बुझाएको शैक्षिक प्रमाण पत्रमा शङ्का लागेपछि नेपालमा रहेको अमेरिकी दूतावासको कन्सुलर शाखाले ती विवरण प्रहरीमा पठाएको थियो।
प्रहरीले उनीहरूलाई भदौ १८ मा काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ।
भदौ २०, २०७८ आइतबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।