एमसीसी सम्झौता राष्ट्रघाती भएको रावलको दाबी
काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाली मन भएकाले एमसीसी सम्झौता गर्नै नसक्ने बताएका हुन्। उनले एमसीसी सम्झौतालाई संसद्मा पेस गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेश करणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने बताए।
रावलले एमसीसी सम्झौताको पुनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाए। ‘नेपाल सरकारको निर्णय अधिकारलाई सीमित पारिएको छ, सरकारले कुनै निर्देशन दिन नसक्ने, नीति निर्माण गर्न नसक्ने’, उनले भने, ‘जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ, त्यसले नेपाल सरकारको कुनै निर्देशन नमान्ने, सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ, यो कल्पना गर्न सकिन्छ? के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ?’
साक्षात्कारमा बोल्दै रावलले एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा आपत्ति जनाए। ‘क्षतिपूर्ति दिनुपर्ने अवस्था आएमा त्यो एमसीसीका कर्मचारीलाई क्षति पुर्याउने कुरा भएको भए पनि नेपाल सरकारले तिर्नुपर्ने, तर आयोजनाको अनुगमन र सुपरिवेक्षण भने नेपाल सरकारले गर्न नपाउने लेखिएको छ। यो भन्दा राष्ट्रिय स्वतन्त्रता माथिको आघात के हुन सक्छ?’ उनले भने।
तत्कालीन नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको स्मरण गर्दै रावलले कार्यदलले यसका गम्भीर प्रावधानहरू रहेकाले नेपालको राष्ट्रिय हितको प्रतिकुल रहेको निष्कर्ष निकालेको बताए।
अहिले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसीका उपाध्यक्ष र सह–उपाध्यक्षलाई नेपालमा बोलाएर प्रत्येक नेताहरूको घरघरमा पठाएर नेपाललाई उपनिवेश बनाउने प्रयासमा सरकार लागेको आरोप लगाए।
उनले नेकपा (एमाले) को पार्टी एकताको लागि आफूहरूले गम्भीर पहल गरेको पनि स्मरण गराए। उनले आफूहरूले पार्टी एकताको लागि तयार पारेको दश बुँदे सहमति कार्यान्वयन हुने पनि विश्वास दिलाए।
भदौ २०, २०७८ आइतबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।