विवेकशील-साझाको एकता जोगाउन दाहालको चार प्रस्ताव : महाधिवेशनसम्म नेतृत्वले पद छाडौँ
काठमाडौँ : पार्टीको अध्यक्ष र संयोजकको समूहबिच समानान्तर गतिविधि बढेपछि विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य केशव दाहालले पार्टीको महाधिवेशनसम्म दुबैलाई नेतृत्व छाड्न प्रस्ताव गरेका छन्। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध प्रस्ताव सार्वजनिक गरेपछि विवाद बढेपछि अहिले दुवै समूह छुट्टाछुट्टै बैठकमा केन्द्रित भएको बेला उनले नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन्।
उनले पार्टीमा पछिल्लो समय वैचारिक विमतिबाट सुरु भएको राजनीतिक ध्रुवीकरण व्यक्तिगत आरोप प्रत्यारोपमा झरेको र एक अर्काप्रति तीव्र र घृणायुक्त गालीगलौज सुरु भएको भन्दै यसको समाधानका लागि नेतृत्वमा रहेका दुवै जना महाधिवेशनसम्म नेतृत्वबाट अलग हुन सुझाव दिएका हुन्।
उनले छलफल गर्नुपर्ने विषय व्यक्तिगत नभई राजनीतिक भएको बताउँदै सामाजिक सञ्जालमा व्यक्तिगत गाली गलौचले कुनै समाधान ननिकाल्ने बताएका छन्।
'राजनीतिक विषयमा हामीले साझा र एकीकृत निष्कर्षहरू निकाल्यौ भने अन्य विषयहरू आफै समाधान हुनेछन् । अन्यथा राजनीतिक विषय भन्दा आरोप प्रत्यारोप प्रधान भएर जानेछ । जसले हामीलाई कहिल्यै निष्कर्षमा पुर्याउने छैन,' उनले भनेका छन्।
गुदी छोडेर बोक्रोमा अल्झिदा कसैलाई सही ठाउँमा पुर्याउदैन भन्दै उनले पार्टीको पछिल्लो सङ्कट मार्ग परिवर्तन कि मूलबाटो भन्ने विषयमा केन्द्रित रहेको र विचारमा एकाम्यता नहुनु नै सङ्कटको मुख्य कारण रहेको भन्दै पार्टीका बैठक कसरी वैचारिक ध्रुवीकरण/विभाजन रोक्ने र कसरी वैकल्पिक राजनीतिको मुख्य कार्यभारमा पार्टीलाई केन्द्रित गर्ने भन्नेमा संवेदनशील हुनुपर्ने उनले उल्लेख गरेका छन्।
राजतन्त्र वा गणतन्त्र, धर्म निरपेक्षता वा हिन्दु धर्म सापेक्षता, एकात्मकता वा सङ्घीयता जस्ता विषयहरू राज्यको रूप र चरित्र कस्तो बनाउने भन्ने महत्त्वपूर्ण र गम्भीर राजनीतिक विषय रहेको र यी नितान्त दुई अलग घारहरू भएकाले यस्ता विषयलाई अल्पमत वा बहुमतबाट निर्णय गर्न नसकिने उल्लेख गर्दै उनले भनेका छन्' एउटै पार्टीमा राजतन्त्रवादी वा गणतन्त्रवादी, धर्म निरपेक्षतावादी वा हिन्दु धर्म सापेक्षतावादी वा सङ्घीयतावादी वा एकात्मकतावादीहरू बस्न सक्दैनन्। यदि बस्छन् भने त्यहाँ राजनीति हुँदैन। मात्र सत्ताको सौदा वाजी हुन्छ।'
उनले अगाडि सारेका चार प्रस्ताव
पहिलो : अहिले आएका दुवै दस्ताबेजलाई पार्टीको औपचारिक प्रक्रियामा संलग्न नगरौँ। यसलाई अझै केही समय अनौपचारिक छलफलमा राखौँ। तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्यौ, त्यसलाई अझ सुदृढ गर्दै महाधिवेशन गरौँ।
दोस्रो : अन्यथा दुवै प्रस्तावलाई मिलाएर साझा बिन्दुहरूलाई जोडौँ र एउटा दस्ताबेज बनाऊँ। यसो गर्दा दुवै दस्ताबेजका विवादास्पद विषयलाई अहिले छलफलमा नल्याऊँ। यसका लागी दुवै पक्षले विश्वास गरेका साथीहरूको कार्यदल बनाऔँ।
तेस्रो : अहिलेको नेतृत्वले पार्टी अनुशासन उलङ्घन गरेको र अस्वाभाविक ध्रुवीकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशन सम्म पद छाडौँ। पार्टीका महिला, युवा वा अरू नै कोही व्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाऔँ र त्यसले सबै कुरा नयाँ ढङ्गले सुरु गरोस्। नयाँ नेतृत्व, नयाँ प्रस्तावबाट पार्टीलाई महाधिवेशनमा लैजाऊ।
चौथो : पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवन गतिहीन भयो, अतः यसलाई वैकल्पिक राजनीति निर्माण अभियानमा रूपान्तरित गरौँ र तलबाट नयाँ ढङ्गले पार्टी संरचना उठाउँदै माथि तिर अगाडी बढौँ।
भदौ २०, २०७८ आइतबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।