नेकपा एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँड
नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरूलाई नयाँ पार्टीको पनि स्थायी कमिटीमा राखेको छ। स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशिकामा उल्लेख छ।
भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ। केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ।
त्यसै गरी प्रदेश इन्चार्जहरूमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह तथा बागमती प्रदेश इन्चार्जमा केदार न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
यसै गरी गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई इन्चार्ज तोकिएको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छैन।
मोर्चा इन्चार्ज डा. विजय पौडेल,उपत्यका विशेष प्रदेश इन्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इन्चार्ज विजय गुरुङलाई जिम्मेवारी दिइएको छ। डा. विजय पौडेलले प्रचार विभाग प्रमुख तथा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ।
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्ताबेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ।
अदालत र निर्वाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ। संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ।
भदौ २०, २०७८ आइतबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।