महतको प्रश्न : हुम्लामा के छ भनेर हेर्दा किन आपत्ति?
महतले प्रश्न गरे, ‘तुइन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा के को आपत्ति?’ अतिक्रमण देखियो भने संयुक्त रूपमा हल गर्नुपर्ने महतले बताए। ‘अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन, महतले भने,‘ आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ।’
उनले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताए। एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड राख्न नहुने बताए। त्यसो गरिएमा धेरै अप्ठ्यारोमा पर्ने महतको टिप्पणी छ।
‘हिजोको सरकार कसैको लहैलहैमा लागे होलान्, तर हामी लाग्दैनौँ, उनले भने,‘भारत होस वा चीन होस, हाम्रो परराष्ट्र नीतिको मूल मन्त्र भनेको नेपालको स्वार्थ र हितको संरक्षण गर्ने हो, हाम्रो स्वार्थ र आवश्यकतालाई केन्द्र विन्दुमा राखेर विदेश नीति हुन्छ।’
उनले चीनसँगको सीमा विवादबारे अध्ययन समिति बनाइएको बताए। ‘चीनसँगको सीमाको कुरा गर्दा हुम्लामा पहिलेदेखि नै समस्या छ भनेर भनिएको छ, अतिक्रमण भएको कुरा निर्वाचित प्रतिनिधिले भनेका छन्। पहिलेको सरकारकै पालामा यो विषय उठेको हो। अहिलेको सरकारको पालामा पनि उठेको छ। अहिले मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको छ। समितिले जे निष्कर्ष निकाल्छ, त्यही हुन्छ।’
उनले भारत होस वा चीन होस जायज विषयलाई मित्रराष्ट्रले सुन्नुपर्ने बताए।
भदौ १९, २०७८ शनिबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।