चीनसँग कुनै सीमा विवाद छैन : एमाले अध्यक्ष ओली

चीनसँग कुनै सीमा विवाद छैन : एमाले अध्यक्ष ओली

उनले अरू कसैलाई खुसी पार्नका लागि सरकारले चीनसँगको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेको आरोप समेत लगाए। 

एमाले अध्यक्ष ओली शनिबार काठमाडौँमा एमाले महानगर भेलामा बोल्दै थिए। उनले त्यही भेलामा चीनसँग सीमा विवाद नरहेको बताएका हुन्।

ओलीले वर्तमान सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्न खोजेको आरोप पनि लगाए। सरकारले गठन गरेको समितिलाई एउटा मात्र पनि सीमा विवाद देखाउन उनले चुनौती दिए। 

उनले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको आरोप लगाए। 

उनले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्क्याएर पास गर्न खोजेको आरोप पनि लगाए। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने ओलीको माग छ। 

भेलामा ओलीले वामदेव गौतमले उपप्रधानमन्त्री खानका लागि आफूलाई गाली गरेर एमाले छाडेको आरोप समेत लगाए। उनले एमाले फुटेको नभई चोइटिएको बताए। पार्टीबाट केही बिग्रिएका मानिस मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने तर्क ओलीको थियो। 

आगामी चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गरे एमाले बाहेक कुनै दलले एक सिट पनि ल्याउन नसक्ने दाबी ओलीको छ। ओलीले एमाले अझ सशक्त ढङ्गले अघि बढ्ने भन्दै उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

भदौ १९, २०७८ शनिबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।