नयाँ बजेट ल्याउन सरकारले गर्‍यो संसद् अधिवेशन आव्हानको सिफारिस 

नयाँ बजेट ल्याउन सरकारले गर्‍यो संसद् अधिवेशन आव्हानको सिफारिस 

मन्त्रीपरिषद्को आज बसेको बैठकले राष्ट्रपति कार्यालयमा अधिवेशन आव्हानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

‘भदौ २३ गते दिउँसो ४ बजे संसद्को अधिवेशन आव्हान गर्ने सिफारिस भएको छ,’प्रवक्ता कार्कीले उकेरासँग भने,‘सिफारिस राष्ट्रपति कार्यालयमा गइसकेको छ।’ 

सरकारले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने तयारी गरेको छ। पूर्ववर्ती सरकारले जेठ १५ मा ल्याएको अध्यादेश बजेट वर्तमान सरकारले साउन ३ गते बसेको संसद्को पहिलो बैठकमा टेबुल गरेको थियो।

अध्यादेश बजेट असोज ३ गतेपछि स्वतः निष्क्रिय हुने भएकाले नयाँ बजेट ल्याउन सरकारले भदौ २३ गते नै अधिवेशन आव्हानको सिफारिस गरेको हो। 

सर्वोच्च अदालतको फैसलापछि दोस्रो पटक पुनर्स्थापना भएको संसद्को बैठक साउन ३ गते बसेको थियो। बैठकमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। 

राजनीतिक दल विभाजनलाई सहज हुने गरी अध्यादेश जारी गर्न सरकारले साउन ३२ गते संसद्को अधिवेशन अन्त्य गरेको थियो। अध्यादेश अनुसार एमाले र जनता समाजवादी पार्टीबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन्। निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न पाउने समय दिएको छ। 

आयोगले नयाँ दल रोज्न दिएको समय सकिने भोलिपल्ट भदौ २३ गते दिउँसो ४ बजे संसद्को अधिवेशन आव्हान गर्न सरकारले सिफारिस गरेको हो। 

भदौ १९, २०७८ शनिबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।