जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर : माओवादी नेता शर्मा
काठमाडौं : अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापित गरेको २१ औँ शताब्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन्।
दोरम्बा सैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको शनिबार काठमाडौँमा भएको भेलामा शर्माले २१ औँ शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने बताए।
२१ औँ शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई पार्टीले अव स्वीकार गर्नुपर्ने उनको भनाई छ। शर्माले गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने बताए।
उनले अव मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमुखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे।
त्यस्तै माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको बताए। उनले वैचारिक राजनीतिक रूपमा पार्टी एकता गर्दा दिगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए।
भदौ १९, २०७८ शनिबार १४:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।