३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौं : ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको नेपाली कांग्रेसको ३५ जिल्लामा गाउँ नगर वडा अधिवेशन सम्पन्न गरेको छ। 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो ३५ जिल्लामा गाउँ÷नगर अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये३५ जिल्लामा मात्र वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदान मार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा आजसम्ममा आइपुग्ने समितिले जनाएको छ।

 अधिवेशन हुन बाँकी जिल्लाका वडा अधिवेशन भदौ २३ गतेसम्म सम्पन्न हुने पनि समितिले जनाएको छ।

क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लाको समेत वडा अधिवेशन सम्पन्न गरेर भदौ २७ मा गाउँ नगर अधिवेशन गर्ने कांग्रेसको कार्य तालिका छ।

महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन हिजो गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ।

यसै गरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

भदौ १९, २०७८ शनिबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।