बामदेवले ओलीलाई लगाए गम्भीर ८ आरोप

बामदेवले ओलीलाई लगाए गम्भीर ८ आरोप

काठमाडौँ : एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाउँदै पार्टी छाडेका छन्। उनले शुक्रवार ओलीलाई गम्भीर ८ आरोप लगाउँदै एमालेको सबै जिम्मेवारी छाडेका हुन्।

उनले खाम बन्दी गरेर बुझाएको राजीनामामा राष्ट्रपतिको दुरुपयोग गरेकोदेखि कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेकोसम्म आरोप लगाइएको छ।

१ : एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन नगरेको।

२ : नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मा एमाले र माओवादी केन्द्रको साझा घोषणालाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकालभरि लागू नगरेको।

३ : प्रधानमन्त्रीको रूपमा गरेका कतिपय कामलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि आफूलाई सुधार गर्न नसकेको।

४ : जनताको बहुदलीय जनवाद र मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’को सिद्धान्तलाई परिपालना नगरेको।

५ : कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ’ भन्ने मदन भण्डारीको मान्यताका विपरीत झन्डै दुई तिहाइ जनताको जनदेशलाई लत्त्याउँदै दुई-दुई पटक संसद् भङ्ग गरेको।

६ : पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान र पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको।

७ : आफ्ना समकक्षीलाई एकपछि अर्को गरी अपमान गर्ने, कार्यवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगालेको।

८ : राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गरेको। 

भदौ १८, २०७८ शुक्रबार २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।