एमसीसीका अधिकारी नेपाल आउँदैमा पार्टीको धारणमा परिवर्तन हुँदैन : माओवादी केन्द्र
काठमाडौँ : नेकपा माओवादी केन्द्रले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतसँग वार्ता गर्न माग गरेको छ।
माओवादी स्थायी कमिटीको आज बसेको बैठकले भारतसँग वार्ता गर्न सरकारलाई भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
माओवादी केन्द्रले एमसीसी सम्झौताका बारेमा यसअघिको धारणा कायमै रहेको बताएको छ। एमसीसीका अधिकारी नेपाल आउँदैमा एमसीसी बारे पार्टीको धारणा परिवर्तन नहुने भन्दै कुनै भ्रममा नपर्न उनले आग्रह गरे।
हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन गर्ने विषयमा उनले राष्ट्रिय स्वाधीनताका विषयमा राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताए।
हुम्ला जिल्ला स्थित उत्तरी क्षेत्रको सिमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेस गर्न सरकारले एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रले पार्टीको केन्द्रीय निकायहरूमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।
स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरूको पदपूर्तिका लागि आवश्यक छलफल गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पदपूर्तिका लागि ५ दिनभित्र सुझाव प्रतिवेदन पेस गर्न भनिएको उनले बताए।
त्यस्तै बैठकले पौष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर सदस्यता वितरण, नवीकरण, वडा अधिवेशन लगायत गर्नुपर्ने भएकाले यसका लागि आवश्यक निर्वाचन नियमावली र आचारसंहिताका साथै निर्देशिकाका बारेमा ५ दिन भित्र सबै तहलाई जानकारी गराउने निर्णय भएको श्रेष्ठले जानकारी दिए।
भदौ १८, २०७८ शुक्रबार २०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।