हतियार चोरीको झुटो मुद्दामा हिरासतमा रहेका दुई सैनिक रिहा, तीन वर्ष पदोन्नति नहुने

हतियार चोरीको झुटो मुद्दामा हिरासतमा रहेका दुई सैनिक रिहा, तीन वर्ष पदोन्नति नहुने
तस्बिर : सौराहा अनलाइन

काठमाडौँ हतियार चोरीको अभियोगमा कारागारमा रहेका २ सैनिक निर्दोष ठहरिएपछि कारागारबाट रिहा भएका छन्। २०७५ मा चितवनमा रहेको गणबाट हराएको हतियार उनीहरूले चोरी गरेको ठहर गर्दै सैनिक अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाईलाई कैद सजाय सुनाएको थियो।

साउन ७ गते चितवनमा सैनिक भरत गुरुङको हत्या भएपछि पक्राउ परेका अर्का सैनिक गंगाधर ढकालले सो हतियार चोरेको खुलेको थियो। दुवै सैनिकले सैनिक विशेष अदालतमा पुनरावेदन दिएपछि बिहीबार बसेको इजलासले दुवै सैनिकलाई निर्दोष ठहर्याउँदै रिहा गर्न आदेश दिएको थियो।

'अमलदार लव कुमार गुरुङ र सिपाही सरोज तामाङको सम्बन्धमा सैनिक विशेष अदालतमा परेको पुनरावेदन उपर उक्त अदालतले प्रतिवादी दुवै जनालाई २०७५ चैत १८ बाट गणना हुने गरी ३ वर्ष पदोन्नति रोक्का र साबिककै दर्जामा सैनिक सेवामा पुनर्बहाली गर्ने गरी मिति २०७८ भदौ १७ गते फैसला भई कार्यान्वयन भैसकेको जानकारी गराइन्छ,' सैनिक जन सम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अदालतको पत्र जिल्ला कारागार चितवन पुगे लगत्तै दुवै सैनिक शुक्रवारै रिहा भए। उनीहरूलाई सेनाले आफ्नो गाडीमा राखेर ब्यारेक लगेको थियो।

उनीहरूको तीन वर्ष पदोन्नति रोक्काको कारण भने खुलाइएको छैन। सैनिक अदालतले बिहीबार हतियार चोरेर आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि गर्दै ढकाललाई जन्मकैदको सजाय सुनाएको थियो।

भदौ १८, २०७८ शुक्रबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।