कांग्रेस महाधिवेशनलाई गुट र गिरोह अन्त्य गर्ने उत्सवका रूपमा लिन कार्यकर्तालाई डा. शेखरको आग्रह
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चौधौँ महाधिवेशनलाई पार्टी भित्र मौलाएको गुट र गिरोह प्रवृत्तिको अन्त्य गर्ने उत्सवको रूपमा लिनुपर्ने बताएका छन्।
५६ जिल्लामा हुन लागेको कांग्रेसको वडा अधिवेशनको अवसर पारेर शुक्रवार कार्यकर्ताहरूको नाममा अपिल जारी गर्दै नेता कोइरालाले पार्टी भित्रको गुट र विभाजनको स्थायी चरित्रका कारण कांग्रेस कमजोर हुन पुगेको बताएका हुन्।
उनले कांग्रेस महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिने जिम्मा सबैको भएको अपिलमा उल्लेख गरेका छन्। ‘पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुन सक्छ’, कोइरालाले अपिलमा उल्लेख गरेका छन्, ‘स्वस्थ र शालीन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत माथि पुग्नेछ।’

उनले पार्टीको सङ्गठनात्मक ढाँचाको विस्तारसँगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम सहज नभएको उल्लेख गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सबैको मन जित्ने वातावरण निर्माण गर्न कार्यकर्तालाई आव्हान गरेका छन्।
१३ औँ महाधिवेशनमा सबै भन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य जितेका कोइराला त्यस लगत्तै सभापतिको उम्मेदवारीको तयारीमा देश दौडाहामा लागेका थिए। संस्थापन इतर समूहबाट सभापतिको आकांक्षी मध्ये कोइराला सशक्त दाबेदार हुन्।
भदौ १८, २०७८ शुक्रबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।