५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज, २१ जिल्लाको अनिश्चित
काठमाडौं : २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली टुङ्गो नलाग्दै नेपाली कांग्रेसले पार्टीको वैधानिकता जोगाउन आज देशका विभिन्न जिल्लामा वडा अधिवेशन गर्दैछ।
क्रियाशील सदस्यताको टुङ्गो लागेका जिल्ला सबैमा अधिवेशन सम्भव नभएकाले आज यति नै जिल्लामा अधिवेशन हुन्छ भन्न नसके पनि पार्टीको वैधानिकता जोगाउन महाधिवेशनको शुभारम्भ भने गरिएको हो।
क्रियाशील सदस्यता विवादले पटक पटक धकेलिएको वडा अधिवेशन यस पटक पनि सबै वडामा एक साथ हुन सकेन। पार्टीका दुई पक्षको असमझदारी र समायोजनमा आएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विवादले निकास नपाउँदा अझै केही जिल्लाको समस्या यथावत् छ। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ।
कोभिड महामारीको कारण देखाउँदै बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका हुन्। रिटको आइतबारका लागि पेशी तोकिएको छ।
बिहीबार साँझसम्म समानुपातिक सहभागिताको सुनिश्चितता नभएको भन्दै दलित, मुस्लिम लगायतका समुदाय केन्द्रीय कार्यालयमा धर्नामा छन्।
कांग्रेसको विधानले वडाको जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्वको कल्पना गरेको छ। तर, पार्टीको क्रियाशीललाई आधार मानेर समावेशी प्रतिनिधित्व कायम गरिनुपर्ने दलित, मुस्लिमलगायत असन्तुष्टहरुको माग छ।
उनीहरू धर्नामा बसेपछि वडा अधिवेशनको पूर्व सन्ध्यामा आएर वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिमा समावेशी आधारमा एक एक जना थप्ने निर्णय सार्वजनिक भएको छ।
निर्णय कार्यान्वयन हुनेमा निर्वाचन समितिका संयोजक महेन्द्र यादव नै विश्वस्त छैनन्। साँझ आएको निर्णय कति वडामा पुग्छ भन्न नसकिने उनको प्रतिक्रिया छ।
पार्टीका गुट उपगुटको स्वार्थ बाझिँदा अधिवेशन अनिश्चित भएकोमा कांग्रेस कार्यकर्ताहरू चिन्तित छन्। ‘नेताको स्वार्थ भन्दा पनि पार्टीको हितलाई ध्यान दिएर निर्णय गर्नुपर्छ’, कांग्रेस महाधिवेशन प्रतिनिधि मैना कार्कीले भनिन्, ‘नेताको स्वार्थ नमिल्दा पार्टीले पुनर्जीवन पाउन सकेको छैन।’
नेतृत्वको टकराबले वडा तहका कार्यकर्ता अन्योलमा परेको उनले बताइन्। अधिवेशनको निर्णय गरेर मतदाता नामावली पठाउन नसक्नु कांग्रेसको विडम्बना भएको उनको भनाई थियो।
क्रियाशील सदस्यता नपुगेको ठाउँमा पनि अधिवेशन स्थगित भएको भनिएको छैन। पार्टीले आज अधिवेशन हुन नसकेको कहिले गर्ने भनेको पनि छैन।
निर्वाचन समितिले अधिवेशन हुन नसकेको ठाउँमा ३ दिन भित्र अर्को मिति तय गर्ने निर्देशिकामा भनिएकाले त्यही व्यवस्थामा टेकेर अर्को मिति तय हुने निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए।
भदौ १८, २०७८ शुक्रबार ०७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।