जय सिंह घटनाबारे औपचारिक केही थाहा नभएको भारतको दाबी

जय सिंह घटनाबारे औपचारिक केही थाहा नभएको भारतको दाबी

काठमाडौँ : भारतले भारतीय सुरक्षाकर्मीले तुइन काट्दा हराएको दाबी गरिएका जयसिंह धामी घटनाबारे औपचारिक रूपमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ। 

नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि घटनाबारे कूटनीतिक रूपमा भारतसँग कुरा गर्न सुझाव दिएको थियो। तर,बिहीबार नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्छीले  यसबारे आधिकारिक रूपमा कुनै जानकारी नभएको बताएका हुन्। 

उनले मिडिया रिपोर्ट देखेको  र समाचारबाट थाहा पाए पनि यस विषयमा थप जानकारी नभएको दाबी गरेका थिए। उनले नेपालले गरेको अनुसन्धानबारे पनि थाहा नभएको दाबी गरेका थिए।

महाकाली नदीको तुइन पार गरेर दार्चुलाको खलङ्गा आउने क्रममा साउन १५ गते धामी खोलामा खसेर बेपत्ता भएका थिए। नेपाल सरकारले गठन गरेको समितिले भारतीय सीमा सुरक्षा बलका जवानको उपस्थितिमा घटना भएको भन्दै थप अनुसन्धानको सिफारिस गरेको थियो। प्रतिवेदन अस्पष्ट भएको भन्दै सरकारको आलोचना भइरहेको छ।

भदौ १७, २०७८ बिहीबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।