आर्थिक पत्रकारलाई चुनाव लाग्यो : अध्यक्षमा तीन जना उम्मेदवार
काठमाडौँ : नेपाल आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा तीन जनाको उम्मेदवारी कायम भएको छ।
सेजनको नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुने २२ औँ वार्षिक साधारण सभा एवं अधिवेशनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको हो। अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिएका छन्। ज्ञवाली क्लिकमान्डुडटकमा कार्यरत छन्। बराल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् भने ढुंगाना नेपाललाइभटुडेका सम्पादक हुन्।
यस्तै उपाध्यक्षमा सुजन वली र कृष्ण रिजालको उम्मेदवारी परेको छ। वली क्यापिटल नेपालमा कार्यरत छन् भने रिजाल नयाँ पत्रिकामा कार्यरत छन्। महासचिवमा विनय बन्जारा र भागवत भट्टराईले उम्मेदवारी दिएका छन्। बन्जारा अर्थपटमा काम गर्छन् भने भट्टराई सिलापत्रमा काम गर्छन्।
सचिव र कोषाध्यक्षमा तीन तीन जनाको उम्मेदवारी परेको छ। सचिवमा हिमाल पौडेल, हिमा बिक र एलिजा उप्रेतीले उम्मेदवारी दिएका छन्। यस्तै कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला अर्याल र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ।
पाँच जना सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। सदस्यहरूमा चेतबहादुर अधिकारी (सिबी), अमर बडुवाल, इशारा कोइराला, अच्युत पुरी, शङ्कर पण्डित र शोभित थपलियाले उम्मेदवारी दिएका छन्।
सेजनको साधारण सभा भोलि शुक्रबार बिहान साढे ८ बजे सुरु हुने सेजनले जनाएको छ। सेजनको निर्वाचन समितिका अनुसार साधारण सभाको बन्द सत्रपछि बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।
नयाँ कार्य समिति चयनका लागि सेजनमा सदस्यता नवीकरण गरेका २६८ जनाले मतदान गर्नेछन्।
भदौ १७, २०७८ बिहीबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।