५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन भोलि : बल्ल समावेशी सदस्य थप गर्ने निर्णय 

५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन भोलि : बल्ल समावेशी सदस्य थप गर्ने निर्णय 

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्रियाशील सदस्यता र निर्वाचन अधिकृत खटिएका ५६ जिल्लाका वडामा भोलि शुक्रबार अधिवेशन हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक महादेव यादवले भोलि ५६ जिल्लाका वडामा अधिवेशन हुने जानकारी दिए। 

क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता नामावली टुङ्गो लगाएर पठाएका जिल्लाका वडामा अधिवेशन हुनेछ। कांग्रेसले अझै २१ जिल्लाको क्रियाशील सदस्यको नामावली टुङ्गो लगाएको छैन। 

क्रियाशील सदस्यको नामावली सार्वजनिक भएका ५६ जिल्ला सबैमा भोलि नै चुनाव हुने नहुने अहिले यकिनका साथ भन्न नसकिने यादवले बताए। 

वडा अधिवेशन गर्ने अघिल्लो दिन कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्ये एक जना वडा कार्य समिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ। 

यी समूहको पालिका वडा कार्य समिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट कांग्रेसको क्रियाशील सदस्य रहेको भए एक जना कार्य समिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय कांग्रेसले गरेको छ। यो निर्णयमा सहमहामन्त्री डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले हस्ताक्षर गरेका छन्। 

तर, अहिलेसम्म यो निर्णय केन्द्रीय निर्वाचन समितिले नपाएको संयोजक यादवले बताए। ‘उहाँहरूलाई एक महिना अगाडी नै यस विषयमा निर्णय गर्न भनेका थियौ,’यादवले उकेरासँग भने,‘अधिवेशन हुने अघिल्लो दिन निर्णय गर्नु भएको छ, कति जिल्लामा पुर्याउन सकिन्छ भन्न सकिँदैन।’

वडा अधिवेशन गराउन निर्वाचन अधिकृतहरू वडा वडामा खटिइसकेकाले कति ठाउँमा यो निर्णय पुग्ने भन्ने यकिन नभएको उनले बताए।

भदौ १७, २०७८ बिहीबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।