मिश्र र पाण्डे समूहको छुट्टाछुट्टै बैठक : एक अर्कालाई कारबाहीको चेतावनी

मिश्र र पाण्डे समूहको छुट्टाछुट्टै बैठक : एक अर्कालाई कारबाहीको चेतावनी

काठमाडौँ : वैचारिक मतभेद बढ्दै गएपछि वैकल्पिक राजनीतिको अभ्यास गर्ने दाबी गरेको विवेकशील साझा पार्टीका २ समूह एक अर्का विरुद्ध उत्रिएका छन्।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्रको विपक्षमा आफ्नो अवधारणा सार्वजनिक गरेपछि संयोजक मिलन पाण्डे समूहसँग मतभेद बढ्यो र दुवै समूहले छुट्टाछुट्टै बैठक गरे। बिहीबार दुवै समूहले आ–आफ्ना समूहका केन्द्रीय सदस्य राखेर केन्द्रीय समितिको बैठक राखेको दाबी गरे।

मिश्र समूहको बैठकले समानान्तर गतिविधि गरे पाण्डे समूहलाई कारबाही गर्ने चेतावनी दियो भने पाण्डे समूहले अध्यक्ष र संयोजकको सहमतिमा बैठक आव्हान र एजेन्डा तय गरिने अभ्यास रहे पनि अध्यक्षले एकल र अवैधानिक ढङ्गले समानान्तर बैठक आव्हान गरेकोले बाध्य भएर बैठकको आव्हान गरिएको दाबी गरिएको छ।

पाण्डे समूहको विधान मस्यौदा माथिको छलफललाई तीव्र बनाउने, पार्टीमा स्वायत्त भूमिकामा रहने गरी न्याय तथा सुशासन आयोग गठन गर्न आवश्यक कार्यविधि आवश्यक बनाउने निर्णय गरेको हरीशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसै गरी बैठकले पार्टी भित्र फुट र विभाजन चाहने तत्त्वहरूलाई निरुत्साहित गर्दै पार्टी एकीकरणको घोषणापत्र, गत निर्वाचनको प्रतिबद्धता एवं विधान अनुसार नेपाली नागरिकको पटक पटकको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै लोकतन्त्र, सामाजिक न्याय र नागरिक सम्प्रभुता र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई अपिल गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

भदौ १७, २०७८ बिहीबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।