एक भएको सन्देश दिन कांग्रेसको पौडेल समूहले पत्रकार सम्मेलन गर्ने
काठमाडौं : वडा अधिवेशन अगावै सभापतिका आकांक्षीहरुबीच को उम्मेदवार बन्ने भन्ने सहमति हुन नसकेपछि आफूहरू एक रहेको सन्देश दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्न लागेको छ।
आफूहरूबीच सहमति गरेर पौडेल समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्ने सार्वजनिक गर्न सभापतिका ४ जना आकांक्षीले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पौडेल निकट स्रोतका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिन लागिएको छ। वडा अधिवेशन अगावै टुङ्गो लगाउने भने पनि त्यो सम्भव नभएपछि कार्यकर्ताको दबाब थेग्न नसकेर पौडेल समूहले यो पत्रकार सम्मेलन गर्न लागेको हो।
उनीहरूले आफूहरू एक ठाउँमा भएको र महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्ने सन्देश सम्मेलनबाट दिन खोजेको स्रोतले बताएको छ।
यो समूह बाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा आकांक्षा राखेका छन्।
चारै नेता वर्तमान सभापति शेरबहादुर देउवालाई हराउन आफूले सक्ने भएकाले सभापतिमा आफूलाई समर्थन गर्नुपर्ने दाबी गर्दै आएका छन्।
भदौ १७, २०७८ बिहीबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।