सबल र सक्षम नेतृत्व चयन गर्न कांग्रेस नेता पौडेलको कार्यकर्तालाई आग्रह
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशन सफल बनाउन लागिपर्न देशभरका सबै नेता कार्यकर्तालाई आव्हान गरेका छन्।
नेता पौडेलले भिडियो सन्देश मार्फत महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको बताउँदै यसलाई सफल बनाउन आह्वान गरेका हुन्।
नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनमा वडा तहबाटै सबल नेतृत्व निर्वाचित गर्न कार्यकर्तालाई आव्हान गरे।
‘ढिलै भए पनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदै छ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ बिहीबार बिहान नेता पौडेलले भनेका छन्, ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता छ।’
उनले आफ्नो निजी स्वार्थलाई त्यागेर लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुर्याउने नेतृत्व ल्याउन उनले भिडियो सन्देश मार्फत आग्रह गरेका छन्।
कांग्रेसमा कसरी सबल र सक्षम नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुँदै सबल र सक्षम नेतृत्व चयन गर्न आफ्नो आत्माको आवाज सुनेर निर्णय लिन कार्यकर्तालाई अपिल गरेका छन्।
भदौ १७, २०७८ बिहीबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।