धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना निलम्बित
काठमाडौँ : सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा मुछिएका ढुङ्गानालाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले सर्वोत्तम सिमेन्टको सेयर कानुन विपरीत छोरीका नाममा खरिद गरेको भेटिएपछि विवादमा आएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ।
धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम बोर्डका अध्यक्षको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्री कार्कीका अनुसार उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहने गरी समिति गठन गरिएको छ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले छानबिनलाई सहज बनाउन भन्दै राजीनामा दिइसकेका छन्।
यस्तै सरकारले नेपालमा कोभिड विरुद्धको खोप ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको छ। मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०७८/२०७९ को अध्यादेश बजेट मार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता र मासिक भत्तालाई कायम गर्ने निर्णय गरेको छ।
राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए। यस्तै नेपाल परराष्ट्र सेवाका कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले माउन्ट केटु हिमाल आरोहण गर्ने दोलखाका दावा छिरिङ शेर्पासहितको नेपाली टोलीलाई प्रोत्साहन स्वरूप प्रति आरोही एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।
भदौ १६, २०७८ बुधबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।