कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै गुरुङले भने - ९ महिनामा भ्रष्टाचार शून्य बनाउँछु
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टीको १४ औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले जितको अत्यन्तै नजिक भएको सभापतिको उम्मेदवार आफू भएको दाबी समेत गरे। उनले १३ औँ महाधिवेशनका ८० प्रतिशत क्रियाशील सदस्य अहिलेको नेतृत्वसँग असन्तुष्ट रहेको बताए। ‘१४ औ महाधिवेशनमा ५० प्रतिशत क्रियाशील सदस्य थप भएका छन्,’उम्मेदवारी घोषणा गर्दै गुरुङले भने,‘१३ औँ महाधिवेशनका ८० प्रतिशत क्रियाशील सदस्य अहिलेको नेतृत्वसँग असन्तुष्ट छन्।’
उनले सभापतिमा निर्वाचित भए ९ महिना भित्र भ्रष्टाचार शून्य बनाउने र देशमा सुशासन कायम गराउने प्रतिबद्धता पनि जनाए। भ्रष्टाचार शून्य बनाउन कडा कानुन निर्माण गर्ने र कडा सजायको व्यवस्था गर्ने कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका गुरुङको भनाई छ।
उनले आफ्नो एक व्यक्ति एक पदको एजेन्डा रहेको सुनाए। पार्टीमा सबैले अवसर पाउने गरी एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्ने उनको भनाई छ। उनले पार्टीको विधानमा स्थानीय तह प्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने व्यवस्था गर्ने एजेन्डा रहेको पनि सुनाएका छन्।
कांग्रेसको १४ औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा र गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
भदौ १६, २०७८ बुधबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।