पौडेलको रोल नम्बर एक बजारमा
काठमाडौ : मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ प्रकाशित भएको छ।
‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पिडाको पेटारो हो। बाल्यकालमा अब्बल बन्ने र छोरीहरूलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ। महिला र पुरुषबीच समानताको चाहले बाल्यकालमै अङ्कुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाँगियो, पौडेलको बाल्यकालीन संस्मरण रोल नम्बर १ त्यसैको नालीबेली हो ।
‘खलङ्गामा हमला’ पुस्तकका लागि उनले मदन पुरस्कार पाएकी थिइन्। मर्यादित र सुरक्षित महिनावारीका विषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन्। ‘रोल नम्बर एक’ उनको पहिलो बाल्यकालीन संस्मरण हो।
यस पुस्तकले नेपाली महिलाहरूको समान र सम्मानपूर्वक बाँच्ने चाहको सङ्घर्षका बारेमा बोध त गराउँछ नै, आज पनि बालिकाहरूले विभेदसँग झुत्ती खेल्दै बाँच्नु परेको कुरालाई पनि सम्झाउँछ। यस पुस्तकले लेखकको संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरूको समान र सम्मान पूर्वक बाँच्ने अधिकारका लागि पैरवी गर्न हामी सबैलाई प्रेरित गर्नेछ।
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको ‘रोल नम्बर एक’ को मूल्य र २ सय ७५ रुपैंया रहेको छ।
भदौ १६, २०७८ बुधबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।