पार्टी जोगाउन विवेकशील साझाका अध्यक्ष मिश्रलाई संयोजक पाण्डेको आग्रह

पार्टी जोगाउन विवेकशील साझाका अध्यक्ष मिश्रलाई संयोजक पाण्डेको आग्रह

काठमाडौ :  विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टी  जोगाउँदै एक साथ अघि बढ्न आग्रह गरेका छन्।

मिश्रले केन्द्रीय समितिको बैठक बोलाएपछि उनी सँग प्रतिस्पर्धा गर्दै छुट्टै बैठक बोलाएका पाण्डेले दुवै बैठक स्थगित गरेर पार्टीलाई एक साथ अघि बढाउन इमेल मार्फत आग्रह गरेका हुन्। पाण्डेले इमेलमा व्यक्ति भन्दा पार्टी ठुलो भएकाले यसलाई आत्मसात् गर्दै दुवै बैठक स्थगित गरेर सामूहिक छलफल गर्न आग्रह गरेका छन्।

 

उनले मिश्रलाई विधान र घोषणा पत्र विपरीत मार्ग परिवर्तन गरेको आरोप लगाएका छन्। ‘हामी वैचारिक छलफलकै क्रममा रहँदा र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नु भयो।’, पाण्डेले भनेका छन्, ‘ हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔँ भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔँ भनेर आग्रह गरेँ।’

 

आफूहरूको इगो, आक्रोश र दम्भले वैकल्पिक राजनीतिलाई असर गर्ने पाण्डेले इमेलमा लेखेका छन्।

 

मिश्रले केही दिन अघि सङ्घीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा अघि सारेका थिए। मिश्रको उक्त धारणापछि दुई पक्षको विवाद सुरु भएको थियो। विवादकै बीच मिश्रले भदौ १७ गतेलाई बैठक बोलाएपछि पाण्डेले पनि सोही दिनको लागि बैठक आव्हान गरेका थिए।  

 

 

 

भदौ १६, २०७८ बुधबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।