अनिश्चित बन्दै कांग्रेसको वडा अधिवेशन
काठमाडौँ : पछिल्लो समय निर्धारित मितिमै अधिवेशन गर्ने दाबी गरेको नेपाली कांग्रेसले वडा अधिवेशन आउन २ दिन बाँकी रहँदा सम्म क्रियाशील सदस्यताको नामावली अझै नटुङ्गिएकाले भदौ १८ गते तोकिएको वडा तहको अधिवेशन अनिश्चित बनेको छ।
क्रियाशील नटुङ्गिएकै कारण कांग्रेसले केही जिल्ला बाहेक बाँकीमा तोकिएको समयमा वडा अधिवेशन गर्न सम्भव नहुने देखिएको हो। सदस्यता नटुङ्गिएकै कारण अधिवेशन हुने र नहुनेमा कार्यकर्ता अन्यौलता छन्।
समयमा क्रियाशील सदस्यता नटुङ्गिएकाले निर्धारित मितिमा सबै वडामा वडा अधिवेशन गर्न सम्भव नहुने निर्वाचन समितिले बताएको छ। २१ जिल्लाको क्रियाशील सदस्यको नामावली अझै निर्वाचन समितिलाई उपलब्ध गराइएको छैन।मङ्गलवार ३ जिल्लाको सदस्यको नामावली सार्वजनिक भएसँगै ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली कांग्रेसले टुङ्ग्याएको छ।
भदौ १८ गते वडा तहको अधिवेशन गर्न नसकेमा अरू तहको कार्य तालिकामा असर नपर्ने गरी मिति तय गर्न जिल्ला निर्वाचन अधिकृतलाई अधिकार दिइएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए। यादवको भनाइमा सबै वडामा १८ गते अधिवेशन सम्भव नहुने निश्चित भइसकेको छ। जतिमा सम्भव हुन्छ त्यतिमा डेडलाईन नकटाउने यादवले बताए। ‘अब सबै वडामा एकै दिन अधिवेशन सम्भव हुँदैन, जतिमा सम्भव हुन्छ त्यतिमा सकेर जानु उपयुक्त हुन्छ।’, यादवले भने, ‘सकेसम्म सबै ठाउँमा सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’
नामावली प्राप्त भएका मध्ये ५३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकिएको निर्वाचन समितिका सदस्य सिताराम केसीले जानकारी दिए। मङ्गलवार सम्म नामावली प्राप्त भएका जिल्लामा १८ गते नै अधिवेशन गर्ने प्रयास गरिरहेको केसीले बताए। तर नामावली आउन बाँकी २१ जिल्लाको हकमा अधिवेशन १८ गते सम्भव नभएको उनले प्रस्ट पारे।
तोकिएको मितिमा वडा अधिवेशन हुन नसकेमा २ दिन भित्र केन्द्रीय निर्वाचन समितिले नयाँ मिति तय गर्ने निर्वाचन निर्देशिकामा उल्लेख छ। ‘जहाँ जहाँ निर्धारित मितिमा सम्भव हुँदैन त्यहाँ हामी पालिकाको अधिवेशन अगाडी सक्ने गरी नयाँ मिति तय गर्छौँ।’, केसीले भने।
पार्टी नेतृत्वले भने अहिलेसम्म १८ गते सम्भव नहुने वडाको अधिवेशन के गर्ने भन्ने विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन। केही दिन पर सारेर देशभर एकै दिन गर्ने या सकेको ठाउँमा निर्धारित मितिमा अधिवेशन सुरु गरेर अन्यत्र अर्को मिति तय गर्ने नेतृत्व तह अन्यौलता देखिन्छ।
भदौ १६, २०७८ बुधबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।