काठमाडौँमा थुप्रिएको फोहोरको डंगुर भोलिबाट उठ्ने
काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा थुप्रिएको फोहोरको डंगुर भोलिबाट उठ्ने भएको छ। काठमाडौँ महानगरपालिकाले मुख्य सडक र भित्री गल्ली गल्लीमा थुप्रिएको फोहोरको डंगुर भोलिबाट उठ्ने जनाएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने बताए।
फोहोर फाल्ने बञ्चरेडाँडासम्म पुग्ने वैकल्पिक बाटो सडक विभागले निर्माण गरिदिने भएको छ। बाटो निर्माणको खर्च महानगरपालिकाले बेहोर्ने बैठकमा निर्णय भएको शाक्यले बताए।
महानगरपालिकाले भोलिदेखि फोहोर उठाउन थाल्ने र चार दिन भित्र फोहोरको डंगुर हट्ने दाबी गरेको छ।
भदौ १५, २०७८ मंगलबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।